सर्लाही – पर्सामा प्रहरीले धान खेतबाट ५४ किलो चरेस बरामद गरेको छ। जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ देउरीयामा प्रहरीले धान खेतभित्र लुकाएर राखिएको उक्त परिमाणको चरेस बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले शुक्रबार दिउँसो धान खेतभित्र ५४ किलो ४०० ग्राम चरेस फेला पारेको हो।

प्रहरीलाई चरेस लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि टोली गाउँका शंकास्पद घरमा खानतलासी गर्न पुगेको थियो। त्यही क्रममा स्थानीय रामायण चौधरीको खेतमा लुकाइएको चरेस भेटिएको प्रहरीले जनाएको छ।
बरामद चरेसलाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको छ। फरार रहेका खेतधनी चौधरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिएका छन्।





