आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

२०८२ भाद्र ७, शनिबार ०६:४७

सर्लाही – भाद्रकृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज देशभर विभिन्न धार्मिक विधि र श्रद्धाभावसहित मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले देवकार्य र पितृकार्यमा वर्षभर प्रयोग हुने पवित्र कुश घर–घरमा भित्र्याएर पूजा अर्चना गरेका छन्।

धर्मशास्त्रविद्हरूका अनुसार ब्राह्मणद्वारा विधिपूर्वक उखेलिएको कुश जजमानको घरमा राख्दा पारिवारिक कल्याण हुने विश्वास छ। “आज उखेलिएको कुश मात्र वर्षभर प्रयोग गर्न मिल्छ,” नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए। सनातन धर्ममा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिकका रूपमा मानिन्छ।

यस अवसरमा बाबु जीवित भएकाहरूले घरमै मनपर्ने भोजन खुवाएर सम्मान गर्ने परम्परा छ भने दिवङ्गत बाबु भएकाहरूले गोकर्णेश्वर, बेत्रावती लगायतका तीर्थस्थलमा गई तर्पण, पिण्डदान र सिदादान गरी पुण्य आर्जन गर्ने गर्छन्। विशेषगरी गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज ठूलो मेला लाग्ने भएकाले श्रद्धालुको घुइँचो छ।

‘पितृदेवो भव’ भन्ने मान्यताअनुसार आज आशीर्वाद पाए सुख समृद्धि मिल्ने विश्वास छ। धार्मिक ग्रन्थअनुसार यस दिन दिइने दान अन्य दिनभन्दा हजारौँ गुणा बढी फलदायी हुने भनाइ छ।

मोतीराम भट्टको १६०औँ जयन्ती

यसैदिन नेपाली साहित्यका युवाकवि तथा राष्ट्रिय विभूति मोतीराम भट्टको १६०औँ जन्मजयन्ती पनि देशभर स्मरणीय रूपमा मनाइँदैछ। वि.सं. १९२३ सालमा भाद्रकृष्ण औंसीका दिन जन्मिएका भट्टको जीवन यात्रा मात्र ३० वर्षको भए पनि नेपाली साहित्यमा उनले पु¥याएको योगदान गहन छ।

शृङ्गार रसलाई साहित्यमा प्रतिष्ठा दिलाउने उनले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशित गराए। साथै, नेपालमा छापाखाना भित्र्याएर साहित्य र पत्रकारिताको जग बसाल्ने श्रेय पनि उनीकै नाममा छ।

यस अवसरमा विभिन्न साहित्यिक कार्यक्रममार्फत मोतीरामको योगदान स्मरण गर्दै उहाँलाई श्रद्धाञ्जलि अर्पण गर्ने कार्य हुँदैछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार