वीरगन्जमा भेटिए हैजाका बिरामी, सतर्कता अपनाउन अनुरोध

२०८२ भाद्र ७, शनिबार १०:२६

सर्लाही – वीरगन्ज महानगरपालिका–१२ मुर्लीस्थित नयाँ टोलमा हैजाका बिरामी भेटिएपछि नगर क्षेत्र नै सतर्कता अपनाउन आग्रह गरिएको छ। शुक्रबार रातिदेखि नै महानगरको स्वास्थ्य महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय र नारायणी अस्पतालको समन्वयमा स्वास्थ्यकर्मीहरूको टोली प्रभावित क्षेत्रमा खटाइएको हो ।

टोलीले संक्रमितको अवस्थाबारे अध्ययन गर्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ । महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुयालका अनुसार, मुर्ली टोलका करिब ३० जना झाडापखालाको लक्षणसहित वीरगन्जस्थित तराई अस्पतालमा भर्ना भएका थिए । परीक्षणका क्रममा १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला गरी तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको छ ।

तीमध्ये बालकको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख राजु शाहले जानकारी दिएका छन् । संक्रमणको स्रोत पत्ता लगाउन मुर्ली टोलमा प्रयोग भइरहेका पिउने पानीका नमुना काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएको छ । यसैबीच, स्वास्थ्यकर्मीहरूले घर–घर पुगेर हैजाबाट जोगिने उपायहरूबारे जानकारी दिने र शंकास्पद बिरामी देखिए तत्काल स्वास्थ्य संस्थामा लैजान आग्रह गर्ने काम अघि बढाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुर र जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरलगायतको टोली स्थानीयस्तरमै सचेतना अभियानमा सक्रिय छ । स्वास्थ्य कार्यालय पर्साका अधिकारीहरूका अनुसार, पछिल्लो करिब एक दशकयता जिल्लामा हैजाको प्रकोप देखिएको थिएन । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने भिब्रियो कोलेरा जीवाणुले हैजा फैलाउने गर्छ । निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानीको कमी, मांसपेसी दुख्ने र ज्वरो आउने यसका मुख्य लक्षण हुन् ।

समयमै उपचार नपाए मृत्यु समेत हुनसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । महानगरले हैजाबाट जोगिनका लागि विशेष सतर्कता अपनाउन आह्वान गरेको छ । उमालिएको वा क्लोरिन मिसाइएको पानी मात्र पिउन, तरकारी तथा सागपात राम्ररी पखालेर पकाएर मात्र खान, बासी खाना र अधपकाएको मासु वा माछा नखान, साबुनपानीले पटक–पटक हात धुन, भाँडाकुडा सफा राख्न र सफा शौचालय प्रयोग गर्न अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार