सर्लाही – नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महेन्द्र राय यादवले नेपाल – भारतबीचको सीमा विवाद समाधानका लागि ठोस आधारसहित कूटनीतिक पहल अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै यादवले लिपुलेक र कालापानी प्रकरण नयाँ नभई विगतदेखि उठ्दै आएको विषय भएकाले यसलाई संवेदनशीलतापूर्वक व्यवस्थापन गर्नुपर्ने बताए। “नेपाल र भारत दुवै पक्षको फरक धारणा भए पनि यसलाई राजनीतीकरण नगरी वार्तामार्फत समाधान खोज्नुपर्छ,” उनले भने।

उनका अनुसार नेपाल – भारत सीमासम्बन्धी करिब ९८ प्रतिशत विवाद समाधान भइसकेको छ भने बाँकी दुई प्रतिशत विषय वार्ता र संवादबाट टुंग्याउन सकिने अवस्था छ। प्रधानमन्त्रीको भारत भ्रमण नजिकिँदै गर्दा यसपालि पनि सीमा विवाद प्रमुख एजेन्डा बनाउनुपर्ने यादवको सुझाव छ।
यस अवसरमा उनले सरकारले ल्याएको भूमि विधेयकप्रति पनि आपत्ति जनाउँदै यो विधेयकले विशेषगरी तराई–मधेसका जनतालाई असर पार्ने दाबी गरे। विपक्षी दलहरूको असहमति हुँदाहुँदै विधेयक अघि बढाइएको भन्दै उनले यसले ठूलो आन्दोलनको बीज रोप्ने चेतावनीसमेत दिए।
यस्तै, गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलालाई सबै पक्षले स्वीकार गरी दोषी देखिएका व्यक्तिलाई कारबाही गर्नुपर्नेमा पनि यादवले जोड दिए।





