सर्लाही – पर्सामा झाडापखालासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार भदौ ७ गते उपचारका क्रममा एक बिरामीको मृत्यु भएको हो।
मृतकलाई हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको उनको भनाइ छ। यसअघि भदौ ६ गते वीरगन्ज हेल्थकेयरमा उपचाररत अर्का बिरामीको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

दुवै घटनामा झाडापखालाको कारण मृत्यु भएको देखिए पनि हैजा थियो वा थिएन भन्नेबारे भने अहिलेसम्म प्राविधिक परीक्षण सम्पन्न भइसकेको छैन। पछिल्लो समय हैजा वीरगञ्जमा महामारीको रूप लिँदै छ।
दुई दिनमै महानगरका विभिन्न वडामा २८ जनामा यसको संक्रमण पुष्टि भइसकेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजाका संक्रमित बढ्न थालेपछि स्थानीय त्रसित बनिरहेका छन् भने विज्ञहरुले सतर्कता अपनाउन अनुरोध गरेका छन्।





