रौतहटमा सुटकेसभित्र भेटिएको युवतीको शवको सनाखत

२०८२ भाद्र ८, आईतवार ०९:१९

सर्लाही – रौतहटको सदरमुकाम गौरमा आइतबार बिहान सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक जिल्लाको माधवनारायण नगरपालिका–२, महादेवपट्टीकी २६ वर्षीया रुवीकुमारी साह रहेको खुलेको छ।

शनिबार राति गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै स्थानीयले ठूलो सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। तर प्रहरीको टोलीले राति घटनास्थल सुरक्षित मात्र राखी सुटकेस नखोलेको र आइतबार बिहान मात्र खोल्दा शव फेला परेको हो।

“राति बत्तीको पर्याप्त व्यवस्था थिएन र सुटकेसमा बिस्फोटक समेत हुनसक्ने आशंका थियो। त्यसैले बिहान मात्रै खोल्दा शव भेटियो,” प्रहरी डीएसपी राजु कार्कीले जानकारी दिए। प्रारम्भिक अनुमान अनुसार रुवीको घाँटी कसेर हत्या गरी शव सुटकेसभित्र राखिएको हो।

तर कसले र किन हत्या गर्‍यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे बुझ्न उनका माइती पक्षलाई प्रहरी कार्यालयमा बोलाइएको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

स्थानीयका अनुसार रुवीको विवाह भारतको मजफरपुरमा भए पनि केही समयदेखि उनी माइती घरमै बस्दै आएकी थिइन्। पतिसँगको सम्बन्धबारे भने हालसम्म स्पष्ट जानकारी खुलिसकेको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार