सर्लाही – मधेस प्रदेशका विभिन्न पालिकामा कृषक र पशुपालकलाई लक्षित गर्दै आधुनिक कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण भइरहेको छ। १३६ पालिकामध्ये हाल २५ वटामा करिब ७५ करोड रुपैयाँको लागतमा भूकम्प प्रतिरोधात्मक, अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्य अघि बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
विश्वबैंकको ऋण सहयोगमा सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (READ) अन्तर्गत बर्दिबासस्थित आयोजनाको आर्थिक करिडोर कार्यालयमार्फत भवन निर्माण भइरहेको हो। प्रत्येक भवन निर्माणमा करिब तीनदेखि पाँच करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।

आयोजना कार्यालय प्रमुख राजेश साहका अनुसार यी केन्द्रहरूमा माटो परीक्षण, पशुमा देखिने रोगहरूको अनुसन्धान, गोबर तथा दूधजन्य पदार्थ परीक्षणसहित उपचार सेवा उपलब्ध हुनेछ। आवश्यक प्रयोगशाला र अत्याधुनिक उपकरणसहित केन्द्रलाई पूर्ण सुविधायुक्त बनाइने उनले बताए।
दुई तले संरचनामा कृषि र पशुपक्षी उपचारका लागि छुट्टाछुट्टै कार्यकक्ष तथा प्रयोगशाला रहनेछन्। साथै, सुपथमूल्यमा उपचार सेवासँगै औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत रहने व्यवस्था गरिएको छ। २५ पालिकामध्ये हालसम्म १४ वटा भवनको काम पूरा भइसकेको कार्यालयले जानकारी दिएको छ।
यस क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियामा बनेको सुविधा सम्पन्न भवन उपमहानगर प्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण पनि गरिएको छ। दुई करोड २५ लाख रुपैयाँ लागतमा बनेको उक्त भवन अब कृषक र पशुपालकलाई सेवा दिन सुरु गर्ने तयारी भएको जनाइएको छ।





