सर्लाही – वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिटेन्समा गत आर्थिक वर्ष नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको विप्रेषण प्राप्त गरेको छ।
यो रकम अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष भने १६.५ प्रतिशत वृद्धिसहित रेमिटेन्स भित्रिएको थियो। केवल असार महिनामात्रै हेर्दा, नेपालमा आएको रेमिटेन्स १ खर्ब ८९ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम १ खर्ब १७ अर्ब ७८ करोड मात्र थियो।

अमेरिकी डलरका आधारमा हेर्दा पनि रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ। गत वर्षको तुलनामा १६.३ प्रतिशतले बढ्दै १२ अर्ब ६४ करोड डलर बराबरको विप्रेषण नेपाल आएको राष्ट्र बैंकले जनाएको छ।
रेमिटेन्ससँगै खुद द्वितीय आय (ट्रान्सफर इनकम) पनि उल्लेख्य बढेको छ। समीक्षा वर्षमा यो आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्ष १५ खर्ब ७१ अर्ब २४ करोड थियो।
यसबीचमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) लिनेको सङ्ख्या ५ लाख ५ हजार ९५७ पुगेको छ। पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ।
अघिल्लो वर्ष यी संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ मात्र थिए। विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगारमा जाने नेपालीको संख्या बढ्दै जाँदा रेमिटेन्स प्रवाहमा अझै उच्च वृद्धिको सम्भावना रहेको छ।





