सर्लाही – रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि नजिकै सुटकेसभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। शनिबार राति गौर – सिरसिया सडकमा फेला परेको सुटकेस खोलेपछि २६ वर्षीया रूवीकुमारी साहको शव भेटिएको हो।
भारतमा विवाह भए पनि छोराको पढाइका लागि उनी माइतीमै बस्दै आएकी थिइन्। घटनापछि प्रहरी रातभरि सो स्थानमा खटिएको थियो। बिहान सुटकेस खोल्दा साहको शव भेटिएपछि अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीले बताए।

“अहिले धेरै जनासँग सोधपुछ भइरहेको छ। संलग्न व्यक्तिको पहिचान गर्न काम भइरहेको छ,” उनले भने। मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार शव ओसारपसारमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको छ। “घटना कसैको कोठाभित्र भएको देखिन्छ। शव निकालेर टेम्पोमार्फत ल्याइएको हुनसक्छ,” उनले जानकारी दिए।
प्रहरीको अनुमान अनुसार साहको हत्या गौर बजारदेखि करिब तीन किलोमिटर टाढा भएको र त्यसपछि शव सुटकेसमा हालेर सडकछेउ ल्याइएको हो। घटना शुक्रबार राति आसपास रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक बुझाइ छ। यसैबीच प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान र पृष्ठभूमि बुझ्न सोधपुछ जारी राखेको जनाएको छ।





