सर्लाही – मिथिला क्षेत्रमा आज धार्मिक आस्था र परम्परासहित चौरचन पर्व मनाइँदै छ। चन्द्रमाको आराधना गर्दै मनाइने यो पर्वलाई मिथिलाञ्चलमा ‘चौरचन’ वा कतिपय ठाउँमा ‘चौठचन्द्र’ नामले चिनिन्छ।
संस्कृतिविद् ध्रुव रायका अनुसार चौरचनले परिवारका सदस्यहरूलाई एकैसाथ भेला गराउने र सामूहिक भोजनमार्फत आपसी सम्बन्धलाई अझ घनिष्ट बनाउने परम्परा बोकेको छ।

आज महिलाहरू दिनभर निराहार उपवासी बस्ने र राति चन्द्रमाको पूजा गरेपछि मात्र अन्न र जल ग्रहण गर्ने प्रथा छ। व्रतालु महिलाले फलफूल, दही, खीर, पुरी तथा मिठाई अर्पण गरी चन्द्रमालाई नमन गर्ने परम्परा रहेको जलेश्वर नगरपालिका–८ की राजवतीदेवी बताउँछिन्।
पूजापछि घरका सबै सदस्यहरूले आँगनमा राखिएका प्रसाद र फलफूल लिएर चन्द्रमाको दर्शन गर्ने चलन छ। पूजा सम्पन्न भएपछि परिवारका सबै जना आँगनमै भेला भई खीर, पुरी, दही र मिठाईसहित विशेष भोजन साझा गर्ने परम्परा रहिआएको छ।





