सर्लाही – पर्साको वीरगञ्जमा हैजाको प्रकोप दिनानुदिन फैलिँदै गएको छ। सोमबार साँझसम्म वीरगञ्ज महानगरभित्र हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ भने यसअघि नै तीन जनाले ज्यान गुमाइसकेका छन्।
केन्द्र, प्रदेश र स्थानीय तहका तर्फबाट रोकथाम तथा नियन्त्रणका लागि निरन्तर प्रयास भइरहेका भए पनि सङ्क्रमण दर घट्ने सट्टा बढ्दो अवस्थामा देखिएको छ। आइतबार बेलुकासम्म ७१ जनामा पुष्टि भएको हैजा सोमबार बढेर ९३ पुगेको पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिएका छन्।

उनका अनुसार अहिले वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्। अहिलेसम्म अस्पताल धाउने झाडापखाला तथा हैजासम्बन्धी बिरामीको सङ्ख्या ३४४ पुगेको छ। नारायणी अस्पतालमा मात्रै ३२ जनामा हैजा पुष्टि भएको छ। सोही संख्यामा तराई अस्पतालमा पनि सङ्क्रमण देखिएको छ।
नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन तीन जना, अर्ली अर्थो अस्पतालमा दुई जना, साथै नारायणी सेन्ट्रल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो, नीलकण्ठ, नेपाल मेडिसिटी बयोधा र सर्वोत्तम अस्पतालमा एक एक जना बिरामी फेला परेका छन्।
अहिले अस्पतालहरूमा २७ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र १२२ जना सामान्य वार्डमा उपचाररत रहेको पर्सा स्वास्थ्य कार्यालयले जनाएको छ।





