सर्लाही – बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।
पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका स्मार्ट कोचिङका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको नेतृत्वमा रहेको समूहले वडा कार्यालयमै बन्धक बनाएर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो।

घटना साउन २८ गतेको हो। पीडित यादवका अनुसार केही व्यक्तिले उनलाई ‘वडाध्यक्षले बोलाएको छ’ भन्दै जबर्जस्ती समातेका थिए। वडा कार्यालयमा लगेर अर्धनग्न बनाई, हातखुट्टा बाँधेर लात्ती कुट्टा प्रहार गरिएको उनले गुनासो गरेका छन्।
‘वडाध्यक्षले रक्सी सेवन गरेका थिए। ८ जनासँगै बसेर मलाई कुटपिट गरे,’ यादवले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ। उनका अनुसार कुशवाहाले धम्की दिँदै सादा कागजमा जबरजस्ती औंठाछाप र हस्ताक्षर समेत गराएका थिए।
प्रश्नपत्रको फोटोकपी गराइरहेका बेला आफूलाई जबर्जस्ती समातेर लगिएको पीडितको जाहेरीमा उल्लेख छ। सोही आधारमा जिल्ला प्रहरी कार्यालय बाराले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा अनुसन्धान थालेको जनाएको छ।
घटना सार्वजनिक भएपछि माओवादी केन्द्रले आफ्ना वडाध्यक्ष कुशवाहालाई ६ महिनाका लागि पार्टी सदस्यता निलम्बन गरेको छ। गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालका अनुसार प्रहरी अहिले थप अनुसन्धानमा जुटिरहेको छ।





