रौतहटमा सुटकेसभित्र युवतीको शव फेला घटना: मूख्य आरोपी शरिरमा आगो लागेको अवस्थामा फेला

२०८२ भाद्र ११, बुधबार ०९:३९

सर्लाही – रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा – मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर नजिकै बिसुनपुरवा – मानपुर जाने बाटोमा रहेको बगैंचामा पासवान जलेर गम्भीर अवस्थामा फेला परेका हुन्। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर उपचारका लागि गरुडास्थित एक अस्पतालमा भर्ना गरेको छ। घटनाको अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ।

गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी रुबि साह सुटकेसमा प्याक गरिएको अवस्थामा मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताएअनुसार, अभियुक्त पासवानले आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।

आज बिहान करिब ६:३० बजे माधव नारायण–६ नहर नजिकै एक व्यक्तिले आत्मदाहको प्रयास गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले पासवानलाई जलेर घाइते भएको अवस्थामा फेला पारेको हो। उनको अवस्था गम्भीर रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस:
रौतहटमा सुटकेसभित्र भेटिएको युवतीको शवको सनाखत
रौतहटमा सुटकेसभित्र युवतीको शव फेला घटना: संलग्न भएको आशंकामा एक जना पक्राउ

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार