‘शी लिड्स आइकन’मा सर्लाहीकी कल्पना कटुवालसहित देशभरका ३१ महिला जनप्रतिनिधि

२०८२ भाद्र ११, बुधबार २१:१८

सर्लाही – स्थानीय तहमा निर्वाचित ३१ महिला जनप्रतिनिधि ‘शी लिड्स आइकन २०२५’ का लागि छनोट भएका छन् । महिलाको नेतृत्व क्षमता उजागर गर्ने उद्देश्यसहित कल्प इम्पावर वुमन नेपालले सञ्चालन गर्दै आएको कार्यक्रममा यस पटक सर्लाहीको बरहथवा नगरपालिकाकी नगरप्रमुख कल्पना कुमारी कटुवालसहित देशभरका विभिन्न महिला जनप्रतिनिधि परेका हुन् ।

गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा पहिलो संस्करण सम्पन्न भइसकेको यो कार्यक्रम यस पटक दोस्रो संस्करणका रूपमा अगाडि बढाइएको हो । आयोजकका अनुसार यस पटक १३१ आवेदन प्राप्त भए पनि १११ मात्र स्वीकृत गरिएका थिए । निर्णायक मण्डलमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार रणनीतिज्ञ चारु चड्डा र लैङ्गिकता विशेषज्ञ सरु जोशीले सहभागिता जनाएका थिए ।

छनोटमा सात प्रमुख÷अध्यक्ष र २४ उपप्रमुख÷उपाध्यक्ष पर्न सफल भएका छन् । प्रदेशगत सूचीमा कोशीबाट प्रमिला राई (भोजपुर), विपना कुलुङ (सोलुखुम्बु), विष्णुकुमारी लिम्बु (इलाम) र सविता राई (सोलुखुम्बु) छन् भने मधेसबाट विद्या देवी भुजेल (धनुषा), कल्पना कटवाल (सर्लाही) सहित गीता चौधरी (सप्तरी), गोकुलीकुमारी रेग्मी (पर्सा) र रिनाकुमारी साह (रौतहट) रहेका छन् ।

यस्तै, बागमती प्रदेशबाट सिता माया गुरुङ (धादिङ), गायत्री आचार्य (दोलखा), मिठुदेवी लामा (सिन्धुपाल्चोक), मीना कुमारी लामा (मकवानपुर), बालकुमारी कार्की (रामेछाप) छनोट भएका छन् । गण्डकी प्रदेशतर्फ हिरादेवी शर्मा (पर्वत), भागवती रेग्मी अर्याल (स्याङ्जा), पद्यमा गुरुङ (लमजुङ) र चन्द्रकला अधिकारी (कास्की) छन् ।

लुम्बिनी प्रदेशबाट विनाकुमारी भट्टराई (बर्दिया), हुमाकुमारी डिसी (दाङ), निरमाया तरामु (गुल्मी) र मिना थापा (रोल्पा), कर्णाली प्रदेशबाट देविका कुमारी सिंह (जाजरकोट), मोहनमाया ढकाल भण्डारी (सुर्खेत), धर्मकला शाही (कालिकोट) र सीता जैसी (जाजरकोट) छन् । सुदूरपश्चिम प्रदेशबाट जमुनाकुमारी बोहरा (डोटी), सुशीला शाही (कैलाली), ज्ञानुकुमारी सेटी देउवा (डडेल्धुरा), डोल्मा तामाङ (बझाङ) र लक्ष्मी धामी रोकाया (डोटी) छनोट भएका छन् ।

आयोजक संस्थाकी अध्यक्ष पूजा कोइरालाका अनुसार भदौ १६ गते उनीहरूलाई एकदिने तालिम दिइने, १७ गते पत्रकारहरूसँग अन्तरक्रिया गराइने र उनीहरूको कामलाई कथा, अन्तर्वार्ता तथा डकुमेन्ट्रीमार्फत प्रवद्र्धन गरिनेछ । यस्तै, पुस १८ देखि २० गतेसम्म काठमाडौँमा ‘महिला जनप्रतिनिधि उत्सव’ आयोजना हुने र पुस २२ गते विशेष समारोहमार्फत ३१ जनामध्ये सात जना ‘शी लिड्स आइकन २०२५’ घोषणा गरिनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार