सर्लाही — रौतहटको वृन्दावन नगरपालिका–९ बाट हराएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ।
प्रहरीले यस घटनामा संलग्न दुई युवकलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार शैलेन्द्र राउत् कुर्मीको खेतमा पार्क गरिएको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब १२:३० बजे चोरी भएको थियो।
चोरी भएको ट्र्याक्टर भोलि पल्टै साउन १० गते सर्लाहीको ईश्वरपुर नगरपालिका–११ मा सडक छेउको खाल्डोमा फेला परेको भए पनि तत्काल चोरलाई समात्न प्रहरीले सकेको थिएन।
तर लगातारको अनुसन्धानपछि प्रहरीले घटनाको एक महिनापछि दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जना माथि चोरीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





