सर्लाही – मधेश प्रदेशसभाको बिहीबारको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन् । उनीहरूले अर्थमन्त्री सुनिल प्रसाद साहको राजीनामाको माग गर्दै बैठक अवरुद्ध गरेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक राम अषिश यादवले सरकारले संसदलाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गराएको आरोप लगाए । “संसदप्रति असम्मानपूर्ण व्यवहार गरेको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्छ,” यादवले चेतावनी दिंदै भने, “उनको राजीनामा नभएसम्म सदन चल्न सक्दैन ।”

सभामुख रामचन्द्र मण्डलले बैठक सञ्चालन गर्ने प्रयास गरे पनि विपक्षी सांसदले मान्न तयार भएनन् । फलस्वरूप प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
यस अघि बिहान भएको सर्वदलीय बैठकसमेत प्रमुख प्रतिपक्षी जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले बहिष्कार गरेका थिए ।
विपक्षीको असन्तुष्टि सरकारले ल्याएको बजेट प्रक्रियासँग जोडिएको छ । सरकारले प्रस्तुत गरेको ४६१ पृष्ठको रेडबुक विपरीत, पछि कार्यदलमार्फत संसदलाई छलेर ३०५ पृष्ठमा बजेट प्रस्तुत गरिएको खुलासा भएको विपक्षीको आरोप छ ।
यही कारण उनीहरूले निरन्तर विरोध गर्दै आएका छन् र बजेट पारित गर्ने प्रक्रियालाई नै अवैध ठहर गरेका छन् । यसैबीच, विपक्षी दलले “साहको राजीनामा नै हाम्रो बटमलाइन रहेको बताएका छन्।”





