नेपाल भएर आतंकवादी छिरेको भन्दै बिहारमा ‘हाई अलर्ट’, यस्तो भन्छ नेपाल प्रहरी

२०८२ भाद्र १२, बिहीबार १५:२९

सर्लाही – बिहार प्रहरीले नेपाल हुँदै तीन जना आतंकवादी प्रवेश गरेको दावी गर्दै ‘हाई अलर्ट’ जारी गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका हसनैन अली (रावलपिन्डी), आदिल हुसैन (उमरकोट) र मोहम्मद उस्मान (बहावलपुर) नामक व्यक्तिहरू अगस्तको दोस्रो हप्तामा काठमाडौं आएका र त्यसपछि बिहार प्रवेश गरेको भनिएको छ।

इन्डियन एक्सप्रेसले रिपोर्ट गरेको छ कि ती तीनै जना जैश-ए-मोहम्मदसँग सम्बन्धित रहेको र आगामी विधानसभा चुनावमा अशान्ति सिर्जना गर्न बिहार प्रवेश गरेको भारतीय विश्लेषकहरूले अनुमान गरेको उल्लेख गरिएको छ। पूर्णियाका डीआईजी प्रमोदकुमार मण्डलले पूर्णिया, कटिहार, अररिया र किशनगन्जका प्रहरी प्रमुखलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

यी सबै जिल्ला नेपालसँग सीमा जोडिएका संवेदनशील क्षेत्र हुन्। तर नेपाल प्रहरीले उक्त दाबी पूर्णरूपमा खारेज गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने, “नेपालको बाटो हुँदै कुनै आतंकवादी प्रवेश गरेको खबरमा सत्यता छैन। सञ्चार माध्यमहरूले मात्रै लेखेका हुन्।”

प्रवक्ता घिमिरेले दुवै देशको सुरक्षा संयन्त्रबीच नियमित बैठक र सूचना आदान-प्रदान जारी रहेको पनि बताएका छन्। उनले भने, “छिमेकी राष्ट्रको सुरक्षा संवेदनशीलतामा हामी सधैं सतर्क छौं।

बिहारमा चुनाव नजिकिएसँगै सुरक्षा संवेदनशीलता स्वाभाविक रूपमा उच्च हुन्छ, तर नेपालबाट आतंकवादी आएको खबरमा कुनै आधार छैन।” बिहारमा चुनावको मिति अझै घोषणा हुन बाँकी भए पनि भारतीय सञ्चारमाध्यमहरूले आगामी नोभेम्बरमा निर्वाचन हुने सम्भावना बताएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार