मधेश प्रदेशसभा बैठक आज पनि स्थगित

२०८२ भाद्र १३, शुक्रबार १६:०४

सर्लाही – मधेश प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलहरूको लगातार अवरोधका कारण फेरि स्थगित भएको छ। सभामुख रामचन्द्र मण्डलले अर्को सूचना नआउन्जेलसम्म बैठक स्थगित रहेको जानकारी दिएका छन्। बैठक अवरुद्ध गर्ने मुख्य कारण अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले उठाएका विरोध हुन्।

जनता समाजवादी पार्टी (जसपा) नेपालका मुख्य सचेतक रामआशिष यादवले २०८२/८३ को बजेट वक्तव्यमा गम्भीर अनियमितता भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको बताए। उनका अनुसार, शुरुमा ४६१ पानाको बजेट वक्तव्य पछि प्राप्त ‘रेड बुक’मा थप २९४ पाना समावेश गरेर कुल ७५५ पाना पुर्‍याइएको छ।

उनले ती थप पानामा करोडौँ रुपैयाँ मूल्यका योजनाहरू अनियमित रूपमा समेटिएको दाबी गरे। प्रतिपक्षी दलहरू जसपा नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रूपमा बैठक अवरुद्ध गरेका छन्।

यसैबिच, नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले प्रतिपक्षी दलहरूले लगातार सभा अवरुद्ध गरेर लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाए। उनले भने, “वार्ता र संवादबाट समस्या समाधान गर्नु पर्नेमा, प्रतिपक्षीहरूले जनताको आवाज दबाउन खोजेको देखिन्छ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार