मोबाइल पसल तोडफोड गरी चोरी गर्ने गिरोह पक्राउ

२०८२ भाद्र १३, शुक्रबार २०:२७

सर्लाही – धनुषामा मोबाइल पसल फोडेर लाखौँ मूल्य बराबरका सामान चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका – ६ गोदार चोकस्थित राजकुमार मोबाइल पसलमा गत भदौ ५ गते मध्यराति ताल्चा फोडेर चोरी भएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार सो घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा सोही नगरपालिका – ७ का २० वर्षीय अर्जुन मुखिया, १९ वर्षीय सिकेन्द्र पासवान र वडा नं. ५ का २२ वर्षीय कृष्ण मण्डल रहेका छन्।

मोबाइल पसल सञ्चालक धनुषाधाम नगरपालिका – ८ केशरकट्टीका ५१ वर्षीय राजकुमार साहको पसलबाट ४५ थान मोबाइल, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च र नगद ९८ हजार ७६५ रुपैयाँसहित करिब १० लाख बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि अनुसन्धानमा खटिएको टोलीले पसलमा जडान गरिएको सीसीटीभी फुटेजको आधारमा तीन जनालाई पक्राउ गरेको हो। उनीहरूको घर र साथबाट १२ थान मोबाइल, घडी, क्यामेरा स्टेन्ड, मोबाइल चार्जर, लेन्स, ग्लास लगायत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप अनुसन्धान भइरहेको र अन्य फरार संलग्नको खोजी कार्य जारी रहेको ढल्केवर प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार