२७ सदस्यीय टोलिसहित प्रधानमन्त्री ओली चीनतर्फ

२०८२ भाद्र १४, शनिबार ०८:१६

सर्लाही – प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान पाँचदिने औपचारिक चीन भ्रमणका लागि २७ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौंबाट प्रस्थान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीलाई बिदाइ गरे ।

हिमालयन एअरलाइन्सको नियमित उडानमार्फत बिहान ७ बजे काठमाडौंबाट उडेका ओली नेतृत्वको टोली दिउँसो ३ बजे चीनको थिएन्चिन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली चीनमा हुन लागेको शाङ्घाई सहयोग संगठन (एससीओ) को २५औं शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति तथा सांसद पूर्णबहादुर खड्का र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा टोलीमा छन् ।

त्यस्तै एमाले सचिव छविलाल विक, परराष्ट्रसचिव अमृतबहादुर राई, निजी चिकित्सक डा. दिव्या सिंह शाह, निजी सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र चिफ अफ प्रोटोकल कुमारराज खरेल पनि सहभागी छन् ।

प्रधानमन्त्री कार्यालयका दीपेन्द्रप्रसाद दाहाल, मनहरि दंगाल, छमानसिंह बुढाथोकी, निजी सहयोगी राधा शाक्यसहित सुरक्षातर्फ प्रमुख सुरक्षा अधिकृत कर्नेल सुमन थापामगर, निजी अंगरक्षक लेफ्टिनेन्ट कर्नेल दिवाकर खड्का र एसपी नवीन कार्की टोलीमा रहेका छन् ।

त्यस्तै संचारकर्मी उदय पोखरेल, प्रकाश सिलवाल, अनुपकुमार घिमिरे र दिनेश भण्डारी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परामर्शदाता प्रदीप आचार्य र शाखा अधिकृत प्रदीप भट्टराईलाई पनि भ्रमण टोलीमा समेटिएको छ । बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओली भने उतैबाट टोलीमा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार