सर्लाही – खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमा दु:ख व्यक्त गर्ने युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा वीरगञ्ज–२४, रामगढ बस्ने किरण साह रहेकी छन्। उनलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
पर्सा प्रहरीका अनुसार मन्त्री यादवलाई ज्यान मार्ने धम्की दिएको भन्दै गुनासो गरेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो। मन्त्री यादव र किरण साहबीच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा हिजोदेखि भाइरल भईरहेको छ।

संवादको अडियो क्लिप अनुसार वीरगञ्जमा फैलिएको हैजा संक्रमणका कारण किरण साहका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका थिए। यही विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीजनक अभिव्यक्ति आएको सुन्न सकिन्छ।





