मलंगवा – बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले बलरामै स्थापना हुने निर्णय भएको इलाका प्रशासन कार्यालयलाई गोडैतामा सार्ने प्रयासप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले कार्यालय बलरा नगरपालिकाभित्रै स्थापना हुनुपर्ने भन्दै सरकारसँग जोडदार माग गरेका छन्।
मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले देशभरका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो। यस निर्णय अनुसार सर्लाहीको बलरा नगरपालिकामा कार्यालय स्थापना हुने टुंगो भएको थियो।

तर गोडैताबाट जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रीसमक्ष “बलराको सट्टा गोडैतामा कार्यालय स्थापना हुनुपर्छ” भन्ने मागसहित ध्यानाकर्षण पत्र बुझाइएपछि बलरामा असन्तोष बढेको छ। नगरप्रमुख कुशवाहाले यस विषयमा छलफल नै नगरी केही नेतृत्व वर्गले स्थानान्तरणको प्रस्ताव अघि बढाउनु दुःखद् भएको बताएका छन्।
उनले भनेका छन्, “इलाका प्रशासन कार्यालय, बलरा भन्नाले केवल साविक बलरा मात्र नभई हालको ११ वडासहित सम्पूर्ण बलरा नगरपालिकालाई बुझिनुपर्छ। सीमा प्रहरी चौकी, विद्यालय, बैंक, अस्पताल, सिटिइभिटी क्याम्पस लगायतका संस्था यहाँ निर्वाध सञ्चालनमा छन्। सुरक्षाको बहानामा बलरालाई अस्वीकार गर्नु गलत हो।”
कुशवाहाले बलरा, रामनगर, धनकौल, गोडैता र विष्णु गाउँपालिका सेवा क्षेत्रमा पर्ने सबै स्थानीय तहका जनतालाई पायक हुने गरी बलरामै उपयुक्त स्थानमा कार्यालय स्थापना गर्न सबै सरोकारवालालाई एउटै टेबुलमा बस्न आग्रह गरेका छन्। उनले बलरालाई फेरि पछाडि धकेल्ने प्रयास न्यायोचित नहुने बताए।
नगरपालिकाले इलाका प्रशासन कार्यालय बलरामै स्थापना गर्न सरकारसँग पुनः जोडदार माग गर्दै यसलाई सबैको साझा सम्पत्ति, गौरव र अपनत्वको प्रतीक बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।





