सर्लाहीमा ५५ किलो गाँजासहित एक युवक पक्राउ

२०८२ भाद्र १७, मंगलवार १७:४०
बरामद गाँजा

मलंगवा – सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्का नजिकै विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गाँजासहित ईश्वरपुर नगरपालिका – १२ घारीबथानका ३२ वर्षीय संजिव भुजेललाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कार्की र ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सडक किनारमा शंकास्पद अवस्थामा बसिरहेका भुजेललाई चेकजाँच गर्दा सेतो रंगका तीन बोरा फेला पारेको थियो।

प्रहरीका अनुसार बोरा परालले छोपेर लुकाइएको थियो। ती बोरामा ५५ किलो २२० ग्राम गाँजा भेटिएको हो। पक्राउ परेका भुजेललाई लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ।

आज सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी भुजेललाई थुनामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय केशरगञ्जदेखि करिब १० किलोमिटर पूर्व – उत्तरको क्षेत्रमा भेटिएको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार