बलरा – सर्लाहीको बलरा नगरपालिकाले प्रभास मिडियाद्वारा सञ्चालित प्रभा फोरकेका पत्रकार राम मिश्रद्वारा मिति २०८२ / ०५ /१६ मा प्रशारित एक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।
उक्त समाचारमा इलाका प्रशासन कार्यालय सम्बन्धी विषयलाई लिएर सदरमुकाम मलंगवामा आयोजित जुलुसको रिपोर्टिङका क्रममा प्रयोग गरिएका शब्दावलीले नगरवासीको मान प्रतिष्ठामा आँच पुगेको भन्दै नगरपालिकाले असन्तुष्टि व्यक्त गरेको हो।

नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले सामाजिक संजालमा एक स्टाटस लेख्दै पत्रकार मिश्रले प्रयोग गरेका “बलरा र रामनगर सुरक्षित छैन”, “त्यहाँका मानिसहरू बदमास, फटहा, डाकु हुन्” र “त्यहाँ इलाका प्रशासन हुँदा सेवाग्राही भारतको बसविट्टाबाट आउँछ” जस्ता अभिव्यक्तिहरूलाई पत्रकारिता आचारसंहिता विपरीत भएको ठहर गरिएको छ।
यस्ता शब्दहरूले नगरवासीको सामाजिक सम्मानमा ठेस पुगेको मात्र नभई पत्रकारिताप्रति आम जनताको विश्वासमा समेत आघात पुगेको स्टाटसमा उल्लेख छ। “पत्रकारिता समाजको चौथो स्तम्भ हो। यसले सामाजिक विसंगति र विकृतिहरूलाई तथ्यपरक ढंगले उजागर गरी समाजलाई सही दिशा देखाउनुपर्छ,” नगर प्रमुख कुशवाहाले भने।
“तर, यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरूले पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।” नगरपालिकाले पत्रकार मिश्रलाई बलरा र रामनगरवासीहरूसँग सार्वजनिक रूपमा क्षमा माग्न सुझाव दिएको छ। साथै, पत्रकारले आवश्यक शब्दावली वा सन्दर्भको अभाव भएमा थप अध्ययन, अनुसन्धान र आत्ममूल्यांकन गर्नुपर्ने जिम्मेवारी रहेको समेत स्मरण गराएको छ।
“पत्रकारिताको मर्यादाभित्र रहेर मात्र समाचार सम्प्रेषण गर्दा समाजलाई सही दिशा प्रदान गर्न सकिन्छ,” स्टाटसमा भनिएको छ। बलरा नगरपालिकाले पत्रकारिता आचारसंहिताको पालना गर्दै जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषणका लागि सबै सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ।





