सर्लाही – बारामा पहिलोपटक वीरगन्जसँग प्रत्यक्ष सम्पर्क नभएका दुई बालबालिकामा हैजाको संक्रमण देखिएको छ।
महागढीमाई नगरपालिका – ८ का आठ – आठ वर्ष उमेरका बालक र बालिकामा भदौ १६ गते हैजाको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिए।

झाडापखाला लागेर उनीहरूलाई कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएका बेला आरडीटी परीक्षणमा हैजा पोजिटिभ देखिएको हो। यादवका अनुसार बारामा यसअघि पुष्टि भएका सबै संक्रमितको ‘ट्राभल हिस्ट्री’ वीरगन्जसँग जोडिएको थियो। तर यो पहिलो पटक स्थानीय स्तरमै संक्रमण पुष्टि भएको हो।
यसअघि बारा घर भई वीरगन्जमा बस्दै आएका आठ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको थियो। तीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने हाल पाँच जना कलैया अस्पतालमा र एक एक जना वीरगन्जको नारायणी अस्पताल तथा नेशनल मेडिकल कलेजमा उपचाररत छन्।





