भूमि विधेयक मधेश विरोधी षड्यन्त्र हो : जसपा अध्यक्ष यादव

२०८२ भाद्र १९, बिहीबार २०:०९

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याउन लागेको भूमि विधेयकलाई मधेशको जल, जंगल र जमिनमाथि गरिएको षड्यन्त्र भनेका छन् ।

सर्लाहीको मलंगवामा आयोजित पार्टीको एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यादवले चुरे क्षेत्रमा भइरहेको विनाश कै कारण मधेश मरुभूमी बन्ने खतरा बढेको चेतावनी दिए । नेपाल जस्तो जलस्रोतसम्पन्न मुलुकमा आज पानीको अभाव हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

यादवले आरोप लगाउँदै भने, “सुकुम्बासी व्यवस्थापनको नाममा भूमि विधेयक ल्याएर मधेशको जल, जंगल र जमिन सखाप पार्ने प्रयास भइरहेको छ । चुरे विनाश गरेर बालुवा, ढुंगा, गिट्टीको अवैध धन्दा गर्नेहरू अरबपति बनेका छन्, तर भूमिगत पानीको सतह घट्दै गएकोले मधेशका जनता पानीको अभावमा पीडित छन् ।”

उनको दाबी अनुसार सरकारको भूमि विधेयक राष्ट्र र मधेश दुवैविरुद्ध लक्षित भएकाले यसलाई मधेशी जनताले कहिल्यै स्वीकार गर्ने छैनन् । उनले थप चेतावनी दिंदै भने, “यदि बलपूर्वक मधेशमाथि यो विधेयक थोपर्ने प्रयास भयो भने मधेशी जनता मौन बस्ने छैनन् ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार