सर्लाही – महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित आदर्श माध्यमिक विद्यालयका ७० भन्दा बढी विद्यार्थी खाजामा छेपारो परेपछि बिहीबार अस्पताल भर्ना भएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार, भदौ १९ गते दिउँसो एक विद्यार्थीलाई दिइएको खाजामा छेपारो भेटिएपछि घटना सार्वजनिक भएको हो। उक्त खाजा नखाई घर फर्किएका विद्यार्थीमार्फत जानकारी फैलिएपछि अन्य बालबालिकामा समेत वाकवाकी हुने र डराउने अवस्था देखिएको थियो।

अभिभावक र विद्यालयको पहलमा खाजा खाएका सबै विद्यार्थीलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। अस्पतालका आकस्मिक कक्ष प्रमुख उज्ज्वल झाका अनुसार, बालबालिकामा गम्भीर स्वास्थ्य समस्या नदेखिएको तर मानसिक आघात र सतर्कताका लागि अस्पतालमा राखिएको हो।
केही बालबालिका उपचारपछि घर फर्किएका छन् भने केही अझै निगरानीमै छन्। यसैबीच, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पर्यो भन्नेबारे छानबिन थालिने बताएका छन्। उनले दोषीलाई कारबाही गरिने चेतावनीसमेत दिएका छन्।





