सुनसरीमा मोटरसाइकलसँगै खोलाले बगाएका सर्लाहीका मनीष अझै भेटिएनन्

२०८२ भाद्र २३, सोमबार ०९:०८

सर्लाही – सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित दूधपानी खोलाले शनिबार मोटरसाइकलसहित बगाएका सर्लाही हरिवनका २७ वर्षीय मनीष पञ्चकोटी आज बिहानसम्म पनि भेटिएका छैनन्।

शनिबार बिहान करिब १० बजे मनीष पत्नी शिलु खड्गीसहित धनकुटातर्फ जाँदै गर्दा बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोला पार गर्ने क्रममा दुबै जनालाई खोलाले बगाएको थियो। घाइते अवस्थामा तत्काल उद्धार गरिएकी शिलुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ, भने उनको उपचार भइरहेको छ।

मनीष भने अझै बेपत्ता छन्। उनलाई खोज्न इलाका प्रहरी कार्यालय महेन्द्रनगर चतरा र चतरा पुलस्थित अस्थायी प्रहरी पोस्टका टोलीसहित स्थानीयबासी खटिएका छन्। तर दूधपानी खोला सीधै सप्तकोसी नदीमा मिसिने भएकाले खोजी कार्य चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ।

यसअघि पनि सोही स्थानमा यस्तै दुर्घटना भइसकेको छ। गत साउनमा धरान–१६ का व्यवसायी जीवन राई र उनकी १८ वर्षीया छोरी अनिता बुलेट मोटरसाइकलसहित खोलाले बगाउँदा छोरी बेपत्ता भएकी थिइन्। तीन दिनपछि उनको शव सप्तकोसी किनारमा फेला परेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार