जेन–जी आन्दोलनमा दमनपछि माओवादीको निष्कर्ष: सरकारको औचित्य सकियो

२०८२ भाद्र २३, सोमबार १८:११

सर्लाही – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जेन–जी आन्दोलनमा भएको प्रहरी दमनलाई लिएर सरकारको औचित्य सकिएको दाबी गरेको छ । पार्टीले गोरखाको आरुघाटमा मध्यपहाडी राजमार्ग अभियान स्थगित गर्दै आकस्मिक पदाधिकारी बैठक बसेर यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा डेढ दर्जन युवाको ज्यान जाने र करिब दुई सय घाइते हुने जस्तो गम्भीर घटनाले सरकार टिकिरहन नसक्ने परिस्थिती बनेको ठहर गरिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार जायज माग लिएर सडकमा उत्रिएका युवामाथि गोली चलाइएको घटनाले लोकतन्त्रकै आधारमा प्रश्न उठाएको छ ।

‘युवाहरूमाथि राज्यद्वारा गरिएको गोली प्रहारले जनआन्दोलन–२ भन्दा भयावह स्थिति सिर्जना भएको छ,’ सापकोटाले भने, ‘फेडेरल लोकतान्त्रिक प्रणाली जोगाउन प्रधानमन्त्री केपी ओलीले तत्काल सरकार छाड्नुपर्छ र संसद्मार्फत समाधान खोजिनुपर्छ ।’

माओवादी नेताहरूले युवाको बलिदानलाई इतिहासले कठोरतापूर्वक लेख्ने चेतावनी दिँदै घटनालाई ‘सत्ताको अहंकार’ को परिणाम भनेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार