आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै

२०८२ भाद्र २४, मंगलवार ०७:५३

सर्लाही – नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातन्त्रका प्रखर अभियन्ता विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ११२औं जन्मजयन्ती आज (मंगलबार) देशभर विविध कार्यक्रमसहित मनाइँदैछ।

भदौ २४, १९७१ मा जन्मिएका कोइरालाले जहानियाँ राणा शासनविरुद्ध प्रारम्भिक जीवनदेखि नै संघर्षको बाटो रोजेका थिए। भारत निर्वासनमा रहँदा उनले भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागिता जनाए भने नेपालमा प्रजातन्त्र स्थापना गर्ने ध्येयसहित २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे। सुवर्णशम्शेरको नेतृत्वमा बनेको नेपाल प्रजातन्त्र कांग्रेससँगको एकतापछि २००७ सालको क्रान्ति सफल भएको थियो।

२००७ सालपछिको संयुक्त सरकारमा गृहमन्त्री बनेका कोइराला २०१५ सालको आमनिर्वाचनमा दुई तिहाइ बहुमतसहित पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। आफ्नो कार्यकालमा भूमिसुधारमार्फत ‘जोत्नेको हातमा जमिन’ भन्ने नीति लागू गर्दै बिर्ता प्रथा अन्त्य गरे। तर २०१७ पुस १ मा शाही सेनाको सहयोगमा जननिर्वाचित सरकार अपदस्त भएपछि उनीसहितका नेताहरूलाई सुन्दरीजल बन्दीगृहमा कैद राखियो।

२०२५ मा स्वास्थ्य उपचारका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म निर्वासित जीवन बिताए। अन्ततः २०३३ पुस १६ गते ‘राष्ट्रीय एकता र मेलमिलाप’ नीति लिएर स्वदेश फर्किए। उनको यो नीति आज पनि नेपाली राजनीतिमा सान्दर्भिक मानिन्छ।

राजनीतिक नेतृत्वसँगै साहित्यमा पनि कोइरालाको योगदान उल्लेखनीय रह्यो। तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई लगायतका उपन्यास तथा जेल जर्नल, फेरि सुन्दरीजल र आत्मवृत्तान्त जस्ता कृतिले नेपाली साहित्यमा नयाँ आयाम थपे। मनोवैज्ञानिक यथार्थवादी साहित्यका प्रवर्तक मानिने कोइरालाको निधन २०३९ साउन ६ गते क्यान्सरका कारण भयो।

२०६१ भदौ २४ गते सुन्दरीजल बन्दीगृहलाई बिपी सङ्ग्रहालयको रूपमा उद्घाटन गरिएको छ। सो सङ्ग्रहालयमा उनका व्यक्तिगत वस्तुसँगै २००७ सालको क्रान्तिमा प्रयोग भएका ट्याङ्कर र कांग्रेसले अपहरण गरेको विमानसमेत राखिएका छन्। भूकम्पले क्षतिग्रस्त भएको सङ्ग्रहालय हाल पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ।

बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस, भ्रातृ संस्था, शुभेच्छुक संगठन र सङ्ग्रहालयले मुलुकभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा विविध कार्यक्रम आयोजना गरेका छन्। कांग्रेसले यस वर्षको जयन्तीलाई आगामी निर्वाचन तयारीसँग पनि जोडेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार