सर्लाही – सर्लाहीको लालबन्दीमा जेन–जी आन्दोलनकारी र सुरक्षा निकायबीचको तनाव चुलिँदै गएपछि प्रशासनले मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश लागू गरेको छ।
मंगलबार बिहानै आन्दोलनकारी समूहले लालबन्दी नगरपालिका कार्यालयमा आगजनी गरेका थिए। उनीहरूले कार्यालय परिसरमा राखिएको स्काभेटरसहित अन्य सामानमा समेत आगो लगाएर क्षति पुर्याएको स्थानीयले बताएका छन्। सो क्रममा नवलपुर चोक र आसपासका क्षेत्रका पार्कमा समेत तोडफोड तथा आगजनी भएको जानकारी छ।

भिड अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले लालबन्दी नगरपालिका क्षेत्रलाई संवेदनशील मानेर कर्फ्यू आदेश जारी गरेको हो। जिल्ला प्रहरी कार्यालय मलंगवाका निमित्त प्रमुख डीएसपी सरोज राईका अनुसार आदेश जारीसँगै बजार क्षेत्रमा र्याली, जुलुस र दुई वा दुईभन्दा बढीको समूहगत गतिविधिमा प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले भने, “कर्फ्यू लागू भएकाले अबदेखि कुनै पनि किसिमको भीडभाड, र्याली तथा जुलुस नगर्न सबैलाई अनुरोध गरिएको छ।”






