जेन-जी आन्दोलनले सर्लाहीमा दिनभर अशान्ति: सरकारी र पार्टी कार्यालयदेखि मेयरका घरसम्म तोडफोड-आगजनी

२०८२ भाद्र २५, बुधबार ०७:५२

सर्लाही – जेन–जी आन्दोलनको प्रभाव मंगलबार सर्लाहीमा दिनभर देखियो । सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानीय तह, पार्टी कार्यालय र सार्वजनिक संरचनामा तोडफोड तथा आगजनी हुँदा वातावरण तनावग्रस्त बन्यो ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार आन्दोलनका क्रममा दुई जना प्रदर्शनकारी र चार जना सुरक्षाकर्मी घाइते भएका छन् । ढुंगा लागेर एक सुरक्षाकर्मीको दाँत समेत झरेको छ । घाइते सबैलाई थप उपचारका लागि बाहिर पठाइएको र सुरक्षाकर्मीको उपचार पनि जारी रहेको प्रहरीले जनाएको छ ।

डीएसपी राईले मंगलबार भएको घटनामा यस बाहेक मानवीय क्षति नभएको जानकारी दिए । आन्दोलनका क्रममा हुलदंगा गरेको आरोपमा पक्राउ परेका पाँच जना साँझसम्म सम्झाइ बुझाइ छाडिएको उनले बताए ।

सरकारी तथा पार्टी कार्यालयमाथि आक्रमण

मंगलबार बिहानै मलंगवास्थित नगरपालिका कार्यालय, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड तथा ढुंगामुढा गरिएको थियो । कांग्रेस र एमालेको जिल्ला पार्टी कार्यालयमा समेत क्षति पुर्याइएको छ ।

त्यसैगरी, लालबन्दी नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी हुनुका साथै मेयर बासुदेव अधिकारीको निवासमा समेत आन्दोलनकारीले तोडफोड गरेका छन् । बरहथवा नगरपालिकाको कार्यालय र मेयर कल्पना कटुवालको घरमा पनि आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ ।

लालबन्दी बजारस्थित वडा नं. ७ को कार्यालय, नवलपुरस्थित वडा नं. १ र २ को संयुक्त कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, प्रहरी पोष्ट तथा सार्वजनिक मोटरसाइकलमा समेत आगजनी गरिएको थियो ।

हरिवन नगरपालिकाको कार्यालय, वडा नं. ११, ७ र ८ का भवनमा आगजनी र तोडफोड भएको छ । मेयर रमेश बुढाथोकी (कमल) को घरमा समेत तोडफोड र लुटपाट भएको प्रहरीले जनाएको छ ।

यस्तै, बागमती नगरपालिका कार्यालय, हरिपुर नगरपालिका कार्यालय र हरिपूर्वा नगरपालिकामा पनि तोडफोड तथा आगजनी भएको छ । हरिपूर्वा नगरप्रमुख विनोदकुमार साह तेलीको जीप र मोटरसाइकल समेत जलाइएको छ ।

यातायात ठप्प, चौकी विस्थापन

आन्दोलनका कारण महेन्द्र राजमार्गसहित जिल्लाभर लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुन सकेनन् । सदरमुकाम मलंगवासहित प्रमुख बजार पनि बन्द भए ।

स्थिति नियन्त्रण बाहिर गएपछि कबिलासीस्थित प्रहरी चौकीलाई विस्थापित गरेर मजकुर कार्यालयमा गाभिएको डीएसपी राईले जानकारी दिए । मंगलबार साँझसम्म चन्द्रनगर गाउँपालिका कार्यालयमा समेत आगजनी सुरु भएको र अन्य पालिकाबाट थप तोडफोडको खबर आइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार