गौर कारागारबाट भागेका १७ कैदीलाई भारतीय प्रहरीले पक्राउ गरि रौतहट प्रहरीलाई बुझायो

२०८२ भाद्र २६, बिहीबार १२:३८

सर्लाही – रौतहटको गौर कारागारबाट भागेका १७ जना कैदीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर रौतहट प्रहरीलाई बुझाएको छ। मंगलबारको घटनामा कारागारको सुरक्षा कमजोरीको लाभ उठाउँदै २ सय ६४ जना कैदी एकैपटक फरार भएका थिए।

उनीहरुमध्ये केही कैदीलाई नेपालभित्रै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए भने सीमाना नाघेर भारत पुगेकाहरुलाई भारतीय सुरक्षा निकायले धरपकड गरेको हो। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ परेकाहरुलाई कानुनी प्रक्रिया पूरा गरी बैरगनिया थाना हुँदै रौतहट प्रहरीलाई बुझाएको छ।

प्रहरीका अनुसार ती सबै कैदीलाई पुनः गौर कारागार चलान गरिएको छ। प्रमुख जिल्ला अधिकारी विनोद खडकाले फरार कैदीहरुमध्ये १७ जना भारतबाट हस्तान्तरण भइसकेको जानकारी दिए। उनले अझै सम्पर्कविहीन रहेका कैदीलाई आत्मसमर्पण गर्न आग्रह गरे।

गौर कारागारमा कुल २९१ जना कैदी रहेका मध्ये हालसम्म ३५ जना नेपालमै पक्राउ परेका छन्। भारतले हस्तान्तरण गरेसँगै बिहीबारसम्म कैदी संख्या ७९ पुगेको कारागार प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार