कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला पक्राउ

२०८२ भाद्र २६, बिहीबार १६:५५

सर्लाही — नख्खु कारागारबाट फरार भएका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टकला’ अखेर पक्राउ परेका छन्। काभ्रे मंगलटारस्थित इलाका प्रहरी कार्यालयको टोलीले बिहीबार उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरका अनुसार पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँगको समन्वयमा राजधानी पठाउने तयारी भइरहेको छ।

“नख्खु कारागारबाट फरार भएका १७ जना र सिन्धुली कारागारबाट भागेका २ जना मध्ये उनलाई पनि पक्राउ गरेका छौं,” निरीक्षक कुँवरले जानकारी दिए। जनकपुर बम विस्फोट प्रकरणमा दोषी ठहरिएपछि टकला १२ वर्ष कैद सजाय काटिरहेका थिए।

उनले तत्कालीन मधेसी जनअधिकार मञ्च र सद्भावना पार्टीका सांसदका रूपमा समेत काम गरेका थिए। टकलामाथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या प्रकरणमा संलग्न रहेको गम्भीर आरोप पनि लागेको छ।

बुधबार प्रदर्शनकारीहरूले कारागारका सुविधा तोडफोड गर्दा टकला अन्य कैदीसँगै भागेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार