सर्लाही – देश असामान्य राजनीतिक मोडमा पुगेको बेला अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने निश्चित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसँग आज साँझ भएको सहमतिपछि उनलाई औपचारिक रूपमा सरकार प्रमुखमा नियुक्त गर्ने तयारी भएको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार कार्कीको शपथ ग्रहण आज राति ९ बजे शीतल निवासमा हुनेछ । यसअघि कार्की स्वयं, जेन–जी आन्दोलनका अभियन्ता तथा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालसँगै राष्ट्रपति निवास पुगेका थिए ।

अन्तरिम सरकारको प्रमुखका रूपमा कार्कीको नाममा सहमति जुटे पनि संसद् विघटन गर्ने–नगर्ने विषयमा भने टुंगो लाग्न सकेको छैन । दुवै पक्ष आफ्नै अडानमा अड्किँदा अलमल कायम रहेको पोखरेलले बताएका छन् । उनका अनुसार, कार्कीको नियुक्तिसँगै बाँकी विवादबारे पनि थप स्पष्टता आउनेछ ।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दबाबपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले असामान्य परिस्थिति उल्लेख गर्दै सोही दिन राजीनामा स्वीकृत गरेका थिए ।





