सन्तानकल्याणको कामना गर्दै मिथिलानी आज ‘ओगटन’, भोलिदेखि कठोर जितिया व्रत

२०८२ भाद्र २८, शनिबार ०९:१०

सर्लाही – मिथिला क्षेत्र आज ‘ओगटन’ अर्थात् दर खाने तयारीमा छ । भोलि आइतबार निराहार बस्नुपर्ने जितिया पर्व अघिल्लो दिन सन्तानवती महिलाले विशेष भोजन गरेर व्रतको थालनी गर्ने परम्परा रहेको छ ।

मधेसको प्राचीन मैथिल संस्कृति अनुसार असोज कृष्णपक्षको अष्टमी तिथिमा मनाइने यो पर्व सन्तानको दीर्घायु, सुखसमृद्धि र सौर्य वृद्धिको कामना स्वरूप गरिन्छ । सप्तमी तिथिको बिहान महिलाहरू पवित्र जलाशयमा स्नान गरी सूर्यलाई अर्घ्य अर्पण गरेर व्रतको संकल्प गर्छन् ।

आजको ‘ओगटन’ मा दही चिउरा, मिष्टान्न परिकारसहित सात्विक भोजन खाने चलन छ भने भोलिदेखि महिलाहरू एकदिनभरि निराहार बस्छन् । नवमी तिथिको एक घडी कटाएपछि सोमबार बिहान व्रत सम्पन्न गर्ने परम्परा रहेको कर्मकाण्डविद्हरू बताउँछन् ।

व्रतालु महिलाले दिवङ्गत सासू, जेठानी देउरानी, माइतीपक्षका आमाबज्यैलगायत तीन पुस्तासम्मका पितृ महिलालाई तर्पण दिने प्रथा छ । त्यसपछि आफ्ना सन्तानलाई कल्याण होस्, वंश वृद्धि होस् भन्ने भावनाले राजा जितवाहनसँग सम्बन्धित कथा सुन्ने चलन रहेको छ ।

मिथिलामा विश्वास छ, द्वापरयुगमा विधवा ब्राह्मणीका मृत छोराहरूलाई राजा जितवाहनले आफ्नी तपशक्तिबाट जीवन दान दिएका थिए । त्यही कथाबाट कठोर जितिया व्रतको परम्परा सुरु भएको मानिन्छ ।

मिथिला क्षेत्रमा विद्यमान विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्ग अनुसार यस वर्षको जितिया व्रत सोमबार बिहान ७ बजे सम्पन्न हुने जानकारी संस्कृत शिक्षक तथा कर्मकाण्डविद् शोभाकान्त झाले दिएका छन् ।

मिथिला मात्र नभई थारु समुदायमा पनि यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यस अवसरमा व्रत बस्ने महिलाले नयाँ चोखा कपडा धारण गर्छन् र घर–परिवारका लागि शुभकामना व्यक्त गर्छन् । मधेस प्रदेश सरकारले यस दिन महिलाहरूलाई बिदा दिने परम्परा बनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार