सर्लाही – कञ्चनपुरको वेदकोट नगरपालिका–४ निवासी बैतडाका २५ वर्षीय नरेश धानुकले शुक्रबार राति फेसबुक लाइभमै आत्महत्या गरेका छन्। आत्मघात गर्नु अघि उनले आफूलाई ‘जेनजी’ भन्दै कांग्रेससँग आबद्ध केही व्यक्तिले नांगै पारेर कुटपिट गरेको दाबी गरेका थिए।
उनले सोसल मिडियामा रुँदै भनेका थिए, ‘मलाई सामाजिक अत्याचार भयो, त्यसैले म मर्न बाध्य भएँ। कांग्रेसका मान्छेले कुटपिट गरे, नांगो बनाएर दौडाए।’ धानुकले आत्महत्या गर्नु अघि केही व्यक्तिको नाम लिँदै ‘यी कारणले म फाँसी दिन लागेको हुँ’ भन्दै आत्महत्या दुरुत्साहन भएको संकेत गरेका थिए।

मृतककी दिदी हिरा धानुक रावलले पनि भाइलाई जबर्जस्ती रक्सी खुवाइएपछि कुटपिट गर्दै अपमान गरिएको र त्यसैको असरले आत्महत्या गर्नुपरेको दाबी गरिन्। उनले भनिन्, ‘उसलाई मार्ने होइन, मर्न बाध्य बनाइएको हो। नामसमेत लिएको छ। त्यसैले शव उठाउँदिनौं, उसको सन्तानको जिम्मेवारी राज्य वा दोषीले लिनुपर्छ।’
घटनापछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा चार जनाविरुद्ध जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए। उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए।





