सर्लाही – सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण प्रक्रिया हालका लागि रोकिएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन रूपमा स्थगित भएको जानकारी दिएको हो।
विभागका अनुसार हालैको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका कारण सूचना प्रविधिसम्बन्धी संरचनामा ठूलो क्षति पुगेको छ। विशेषगरी छपाइ मेसिन, इलेक्ट्रोनिक उपकरण र सर्भर नष्ट भएपछि लाइसेन्स मात्र होइन, विद्युतीय सवारी साधन दर्ता प्रणाली समेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

‘सूचना प्रविधि प्रणाली पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म छपाइ, वितरण र यससँग सम्बन्धित अन्य सेवा बन्द रहनेछ,’ विभागले प्रकाशित सूचनामा उल्लेख छ।
यो अवस्थाले नयाँ लाइसेन्स पाउनका लागि आवेदन दिएको वा प्रक्रियामा रहेका हजारौँ सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन्। विभागले सेवा पुनः सुचारु गर्न आवश्यक मर्मत र पुनर्संरचनाको काम सुरु भइसकेको जनाएको छ।






