सर्लाही – जेन–जी पुस्ताले चलाएको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा ठूलो क्षति भएको छ । सभामुख रामचन्द्र मण्डलका अनुसार तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ ।
उनका अनुसार सातै दलका संसदीय दल कार्यालय, दल नेताहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षलगायत सचिवालयका अधिकांश शाखा आक्रमणबाट पूर्ण रूपमा प्रभावित भएका छन् । ‘केवल कार्यालय मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरिएको छ,’ सभामुख मण्डलले भने ।

तोडफोडमा सचिवालयको हायस गाडीमा आगजनी भएको छ भने सभामुख मण्डलकै निजी सवारीसाधनको सिसा फुटाइएको छ । कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखाजस्ता उपकरण जलाइएका वा लुटिएका छन् ।
सभामुख मण्डलले आफ्नै निवासमा समेत प्रदर्शनकारी पसेर झन्डै तीन तोला सुनका गरगहना लुटेको दाबी गरेका छन् । उनले भने, ‘आक्रोशको यस्तो चरम रूप निकै दुःखद् हो, सार्वजनिक मात्र नभई निजी सम्पत्तिमासमेत आक्रमण भयो ।’
यसैबीच, सचिवालयले मिडिया सेन्टरभित्रका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको जनाएको छ । हाल जनकपुरधाम बाहिर रहेका सभामुख मण्डलले फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनको प्रक्रिया अघि बढाइने बताएका छन् ।





