सर्लाही – कञ्चनपुरको बेदकोट नगरपालिका–४ का २७ वर्षीय नरेश धानुकको मृत्यु प्रकरणमा एक निर्वाचित जनप्रतिनिधिसहित चार जना पक्राउ परेका छन्।
गत शुक्रबार राति आफ्नै घरको कोठामा फेसबुक लाइभ गर्दै धानुकले आत्महत्या गरेका थिए। लाइभमै उनले वडा सदस्य अमर बोहरा, भोजराज पन्त, खेम बोहरा र जनक धानुकले आफूलाई नाङ्गै बनाएर कुटपिट गरेको र अपमान सहन नसकी जीवन अन्त्य गर्न बाध्य भएको बताएका थिए।

परिवारले धानुकको भिडियो बयानलाई आधार मानेर चारै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका थिए। सोही आधारमा कञ्चनपुर प्रहरीले शनिबार जनप्रतिनिधिसहित चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
धानुकको फेसबुक लाइभको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। त्यहाँ उनले ‘जेन–जी आन्दोलनमा सहभागी भएको कारण आफूलाई सताइयो, साथ दिने कोही भएन’ भन्दै अन्तिम सन्देश दिएका थिए। भिडियोमा उनले “गुडबाई, लास्ट सर्ट” भनेर जीवन समाप्त गरेका दृश्य समेत कैद भएको छ।
शनिबार मृतक धानुकको अन्त्येष्टि गरियो। परिवारजन अहिले शोकमा डुबेका छन्। उनकी दिदी हिरा रावल (धानुक) का अनुसार, वडा सदस्य अमर बोहराले अन्य साथीहरूसँग मिलेर भाईलाई जबर्जस्ती मदिरा खुवाएर कुटपिट गरेका थिए।
“दुई नाबालक छोरा–छोरी र श्रीमतीसँगै हाम्रो परिवारलाई ठूलो पीडा परेको छ,” उनले भनिन्, “जनप्रतिनिधिबाटै यस्तो अन्याय हुनु दुःखद हो।” यस विषयमा वडा अध्यक्ष नरेन्द्र बोहराले धानुक र अन्य स्थानीयबीच जेन–जी आन्दोलनबारे विवाद हुँदा स्थिति चर्किएको बताएका छन्।
यो पनि पढ्नुहोस:
– ‘जेनजी’ भन्दै कांग्रेस निकटका व्यक्तिले कुटपिट गरेको भन्दै युवकले गरे फेसबुक लाइभमै आत्महत्या





