एसिया कपमा भारतको सहज जित, हात मिलाउनै मानेनन् भारत-पाक खेलाडी

२०८२ भाद्र ३०, सोमबार १०:०९

सर्लाही – एसीसी एसिया कपमा भारतले पाकिस्तानमाथि सात विकेटको सहज जित निकाल्दै शानदार सुरुवात गर्‍यो। तर खेलमैदानमा जित हारभन्दा बढी चर्चामा भने खेलाडीबीचको व्यवहार रह्यो।

खेल अघि टसका क्रममा पाकिस्तानी कप्तान सलमान आघाले भारतीय कप्तान सूर्य कुमार यादवलाई बेवास्ता गरेका थिए। त्यसपछि खेल सकिँदा भारतीय खेलाडीले पनि पाकिस्तानी खेलाडीहरूसँग हात मिलाउन अस्वीकार गरे। फलस्वरूप, दुबै टोलीबीच खेलअघि र खेलपछि ‘ह्यान्डशेक’ नै भएन।

खेलतर्फ, पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमै तीन विकेट गुमाएर सहजै पूरा गर्‍यो। कप्तान सूर्यकुमार यादव ४७ रनसहित सर्वाधिक योगदानकर्ता बने भने तिलक वर्मा र अभिषेक शर्माले समान ३१–३१ रन जोडे।

पाकिस्तानी बलर सैम अयुबले तीनै विकेट लिए पनि टिमलाई बचाउन सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२७ रन बनाएको थियो। साहिबजादा फर्हानले ४४ रन, साहिन शाह अफ्रिदीले ३३ रन जोडे।

भारतका कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। जसप्रीत बुमराह र अक्षर पटेलले दुई दुई विकेट दिलाए भने वरुण चक्रवर्ती र हार्दिक पन्ड्याले एक एक विकेट हात पारे। समूह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानसँगै ओमान र यूएई पनि रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार