सर्लाही – जनमत पार्टीले बलात्कारसम्बन्धी मुद्दामा संलग्नताको आरोप लागेपछि आफ्ना केन्द्रीय सचिव विशेश्वर प्रसाद (वीपी) साहलाई निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार अनुसन्धान पूरा नभएसम्म साहलाई सचिव पद र साधारण सदस्यता दुवैबाट निलम्बन गरिएको छ।

अनुशासन समितिका अनुसार २०८१ चैत ३१ गते साहविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो। सो मुद्दाबारे धनुषा जिल्ला प्रहरी कार्यालयले भदौ ५ गते सार्वजनिक सूचना जारी गरेपछि पार्टीको ध्यान गम्भीर रूपमा आकर्षित भएको समितिले जनाएको छ।
यस्तै, समितिले साहलाई सात दिनभित्र लिखित स्पष्टिकरण बुझाउन आग्रह गरेको छ। अनुसन्धान नसकिएसम्म उनको सम्पूर्ण पार्टी जिम्मेवारी स्थगित रहने पनि समितिले स्पष्ट पारेको छ।





