सर्लाही – नेपाल र फ्रान्सपछि अब फिलिपिन्समा पनि सडक आन्दोलन चर्किएको छ।
राजधानी मनिला लगायत विभिन्न सहरमा हजारौं नागरिक बाढी नियन्त्रण परियोजनामा भएको ठूलो भ्रष्टाचारविरुद्ध आन्दोलित छन्। पछिल्ला केही सातादेखि निरन्तर प्रदर्शन भइरहेको छ। आइतबार मात्र फिलिपिन्स विश्वविद्यालय परिसरमा करिब तीन हजार विद्यार्थीले सरकारविरुद्ध मार्च निकाले।

राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनआक्रोशलाई स्वाभाविक भन्दै नागरिकको असन्तुष्टि जायज रहेको टिप्पणी गरेका छन्। उनले मानिसहरू न्यायको खोजीमा सडकमा उत्रिनु लोकतान्त्रिक अधिकार भएको बताए। यस प्रकरणमा ३० जना सांसद तथा सार्वजनिक निर्माण विभागका उच्च अधिकारीहरूलाई घुस लिएको आरोप लागेको छ।
सोही क्रममा संसदका सभामुख र राष्ट्रपतिका काका मार्टिन रोमुआल्डेजको नाम समेत जोडिएको छ, तर उनले आरोप अस्वीकार गरेका छन्। घोटालाबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्ड्रेस रेयेसको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिएको छ।
साथै विभागको प्रतिष्ठा जोगाउन तीन अधिकारी बर्खास्त पनि गरिएका छन्। अर्थ मन्त्रालयको विवरणअनुसार, सन् २०२३ देखि २०२५ सम्म बाढी नियन्त्रण आयोजना भ्रष्टाचारकै कारण करिब २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको छ।





