धनुषामा ४७५ किलो गाँजासहित दुई जना पक्राउ

२०८२ आश्विन १, बुधबार १६:३७
सांकेतिक तस्बिर

सर्लाही – धनुषामा ४ सय ७५ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको विदेह नगरपालिका–३, जोगियाराबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गर्दै दुई युवालाई पक्राउ गरेको हो।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा धादिङको बेनिघाट रोराङ गाउँपालिका – १ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर रहेका छन्।

प्रहरीका अनुसार धरानबाट गाँजा बोकेर ल्याएको भन्ने गोप्य सूचनाका आधारमा प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडीलाई गणेशमान चारनाथ नगरपालिका – ४, वीरेन्द्रबजारमा रोक्दा उक्त दुई जना फेला परेका थिए।

प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका–३, जोगियारास्थित एक इँटा भट्टामा लुकाएको खुल्न आएपछि त्यहाँ खोजतलासी गर्दा १९ वटा पोकामा राखिएको ४ सय ७५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार