जनमत पार्टीमा नेतृत्व संकट: सीके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम

२०८२ आश्विन १, बुधबार १८:५८
file image

सर्लाही – जनमत पार्टीका केही वरिष्ठ नेता तथा पदाधिकारीहरूले अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई २४ घण्टाभित्र आफ्नो पदबाट राजीनामा दिन अल्टिमेटम दिएका छन्। वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादवसहित कुल ६ जना नेताले पार्टीको नेतृत्व परिवर्तन अपरिहार्य भएको भन्दै यस कदमको माग गरेका हुन्।

पत्रमा उनीहरूले उल्लेख गरेका छन् कि पार्टीको दीर्घकालीन हित, राजनीतिक विश्वसनीयता र जनआस्थाको पुनर्स्थापनाका लागि नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्षमा पुगेको छ। “हामी जिम्मेवार पदाधिकारीहरूको हैसियतले अध्यक्ष र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई स्वेच्छिक रूपमा २४ घण्टाभित्र राजीनामा दिन हार्दिक अनुरोध गर्दछौँ,” पत्रमा भनिएको छ।

पत्रमा पछिल्लो समयमा देशभर फैलिएको भ्रष्टाचार, परिवारवाद, नातावाद र सुशासनविरुद्धको युवापुस्ताको आन्दोलनलाई ऐतिहासिक मोडको रूपमा उल्लेख गरिएको छ। भदौ २३, २४ गते जेनजी युवापुस्ताले सञ्चालन गरेको आन्दोलनले वर्तमान राजनीतिक परिदृश्यमा ठुलो प्रभाव पारेको पत्रमा दाबी गरिएको छ।

नेताहरूले पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य र कार्यकर्ताको मर्मअनुसार अघि बढ्न नसकेको आलोचना गरेका छन्।

पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघ केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघ केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य तथा केन्द्रीय सदस्य विक्रमबहादुर बल रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार