सर्लाही – भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएका मधेश प्रदेशका मृतकका परिवारलाई सरकारबाट क्षतिपूर्ति उपलब्ध गराइने भएको छ ।
मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक मृतक परिवारलाई दुई लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकले आन्दोलनमा सहादत प्राप्त गरेका प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै, आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको तोडफोड, आगजनी र सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाही अघि बढाउने निर्णयसमेत गरेको छ ।
यसअघि पनि आन्दोलनका क्रममा उठेका सुशासन र भ्रष्टाचारविरुद्धका मागलाई सम्बोधन गर्नुपर्ने आवाज उठेको थियो ।





