हिरासतबाट छुटे जसपा प्रदेश अध्यक्ष यादव, आमाको काजकिरिया सकेपछि पुनः हाजिर हुने

२०८२ आश्विन ३, शुक्रबार २०:२७

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवलाई आमाको काज किरियामा सहभागी हुन प्रहरीले अस्थायी रूपमा हिरासतबाट रिहा गरेको छ।

सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार यादवकी आमाको गएराति सर्लाहीको कविलासी नगरपालिका–८, सलेमपुरस्थित घरमा निधन भएको थियो। सोही कारण १३ दिनसम्मको धार्मिक काज किरियाका लागि उनलाई आज बिहान छुट्टाइएको हो।

राईका अनुसार यादवले आमाको काजकिरिया सम्पन्न गरेपछि पुनः प्रहरीसमक्ष हाजिर हुने लिखित प्रतिवद्धता दिएका छन्। यस अघि प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्कासँग वाकयुद्धमा उत्रिएको आरोपमा यादवलाई करिब एक साताअघि पक्राउ गरी हिरासतमा राखिएको थियो।

सार्वजनिक अडियोमा प्रहरी प्रमुख खडकाले अपशब्द बोलेको सुन्निन्छ। त्यहि कारण उक्त अडियोको प्राबिधिक चेकजाँच गर्न र निष्पक्ष छानबिन गर्न जसपा नेता यादवले माग समेत गरेका थिए। उनलाई हाल राज्यद्रोहसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार