सर्लाही – चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म मुलुकभर विभिन्न प्रकारका विपद्का घटनाले गम्भीर असर पुर्याएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखयता मात्र तीन हजार ६८१ विपद्का घटना घटेका छन्, ति घटनामा परि छ हजार ५९० घरपरिवारलाई प्रत्यक्ष प्रभावित पारेको छ।
सो अवधिमा २४३ जनाको मृत्यु भएको छ भने ८६९ जना घाइते र २४ जना अझै बेपत्ता छन्। सबैभन्दा धेरै घटना आगलागीका भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। देशभर १,२९५ वटा आगलागी हुँदा २३ जनाको ज्यान गएको छ, एक सय ७७ जना घाइते भएका छन् र एक हजार ४११ परिवार विस्थापित भएका छन्।

त्यसैगरी २६३ बाढीका घटनामा २९ जनाले ज्यान गुमाएका छन्, २३ जना बेपत्ता छन् र १,८६१ परिवार प्रभावित भएका छन्। पहिरोका ४६३ घटनाले २४ जनाको मृत्यु, ४१ जनाको चोटपटक र सयौं घरपरिवारलाई विस्थापित पारेको छ। भारी वर्षाका ३४० घटनामा ६ जनाको मृत्यु भएको छ भने चट्याङका २९० घटनामा ३८ जनाले ज्यान गुमाएका छन्।
चट्याङमा परेर मात्र २१२ जना घाइते भएका छन्। यसैगरी सर्पदंशका ३०४ घटनामा ७७ जनाको मृत्यु र २३३ जनाको उपचारको अवस्था छ। वन डढेलोका १८५ घटनाले २ जना घाइते र २७ परिवार प्रभावित भए भने हावाहुरीका २८४ घटनामा ८ जनाको मृत्यु, ४४ घाइते र ५४१ परिवार प्रभावित भएका छन्।
जनावर आक्रमणका २१७ घटनामा २० जनाको मृत्यु र ८८ जनाको घाइते भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार विपद् न्यूनीकरणका लागि सचेतना अभियान, पूर्वसूचना प्रणाली र पूर्वसावधानी उपायलाई अझ व्यवस्थित बनाइएको छ।





