सर्लाही – केही समयदेखि स्थगित हुँदै आएको मधेस प्रदेशसभाको बैठक अन्ततः असोज ७ गते बस्ने भएको छ। सभामुख रामचन्द्र मण्डलले शनिबार जानकारी दिँदै दिनको १ बजे बैठक आह्वान गरिएको बताए।
यसअघि आजै बसेको सर्वदलीय बैठकले तोडफोड र आगजनीका घटनापछि अनिश्चित बनेको प्रदेशसभाको बैठक असोज ७ गते बस्ने सहमति गरेको हो। मण्डलका अनुसार ध्वस्त संरचनामध्ये प्रयोगयोग्य भागलाई अस्थायी रूपमा प्रयोग गर्दै बैठक सञ्चालन गरिनेछ।

प्रदेशसभा भवनमा भएको क्षतिको दीर्घकालीन समाधानका लागि पुनर्निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि सर्वदलीय छलफलबाट भएको उनले जानकारी दिए।
जेन-जी आन्दोलनका क्रममा भवनमा भएको क्षति र विपक्षी दलहरूको अवरोधका कारण स्थगित हुँदै आएको प्रदेशसभा बैठक मुख्यमन्त्री सरोजकुमार सिंहले विश्वासको मत लिनुपर्ने अडानसँगै पुनः बोलाइएको हो।





