सर्लाही – आगामी असोज ५ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकोले यसको कुनै धार्मिक प्रभाव नपर्ने भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण नेपालमा अदृश्य रहने भएकाले शास्त्रीय मान्यता अनुसार सुतक मान्नुपर्ने आवश्यकता छैन। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार “नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु पर्दैन, त्यसको दोष पनि लाग्दैन” भन्ने स्पष्ट उल्लेख शास्त्रमा छ।

हाल सोह्र श्राद्ध चलिरहेका बेला धेरै धर्मावलम्बीले श्राद्ध गर्ने वा नगर्ने, सुतक कहिलेदेखि सुरु हुन्छ भन्ने जिज्ञासा राखेपछि समितिले आधिकारिक स्पष्टीकरण दिएको हो। यो सूर्यग्रहण असोज ५ गते (आश्विन कृष्ण औँसीका दिन) लाग्ने भए पनि न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा र अन्टार्टिका क्षेत्रबाट मात्र देखिने जनाइएको छ।





